२४ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्वान् तयार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरूले कैयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए ।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानीअनुसारका वस्तु उत्पादन गर्न सकिने उनले बताए ।
उनले भने, एक पुस्तामा नै मेहनत गरेर विद्वान् हुन सकिँदैन । पुस्तादेखि पुस्ताको मेहनतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरूले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ । हाम्रोजस्तो देशमा हामीले असाधारण ढङ्गले काम गर्न सक्छौँ ।
प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण र संवर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए ।
मैले हिजो बेलुका मात्रै एक जना साथीलाई भनेँ, मैले हेर्न त हेरिनँ, उनले जनै खटिरा भने । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधि चाहिँ बताइदिएँ । म आफैँलाई पानीसरा भएको थियो ।
पानीसरा अत्यन्तै पोल्छ । दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र त्यसले उच्च ज्वरो आउँछ । साधारण औषधि कालो तिल आफैँले चपाएर थपक–थपक लगाइदियो भने, बिरामीले चपाउन पनि आनन्द मान्छ ।
र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने । लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जिलजिल गर्ने फोका समाप्त हुन्छ र बिस्तारै त्यो केही घण्टाभित्र सुक्छ । त्यो मैले अरू ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।
सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तिनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरूको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली बिहीवारको कार्यक्रममा भने जडीबुटीको उपयोगिता, नयाँ आविष्कार तथा परम्परागत औषधिको बेलिविस्तार लगाए ।
उनले पूर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पारे ।
कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो ।