२५ असार, काठमाडौँ ।
नेकपा एमालेमा लागेका पूर्व(माओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेजबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गरेको निवेदनमा भइरहेको प्रगति बुझ्न शुक्रबार बिहान आयोगमा पुगेका पूर्व–माओवादी नेता टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायतले प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेर निवेदनबारे छिटो निर्णय गर्न आग्रह गरेका हुन् ।
संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेज हुनुपर्ने बताउँदै आयोगमा पुगेका प्रभु साहले भने – ‘हामीले यसबारे छिटो निर्णय होस् भनेका छौं ।’
माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायत नेताहरुले बुधबार अधिवक्ता सरोज बुढाथाकीमार्फत आयोगमा दल दर्ता खारेजीको निवेदन दिएका थिए ।