मनसुनजन्य विपदबाट क्षति बेहोरेका किसानले क्षतिपूर्ति पाउँछन् : सचिव कार्की

मनसुनजन्य विपदबाट क्षति बेहोरेका किसानले क्षतिपूर्ति पाउँछन् : सचिव कार्की

२५ असार, काठमाडौं ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति बेहोरेका किसानलाई आउँदो आर्थिक वर्षमा क्षतिपूर्ति दिने गरी लगत सङ्कलन गरिरहेको बताएको छ ।

शुक्रवारको कुराकानीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले यस वर्षको मनसुनमा आएको बाढी तथा पहिरोका कारण किसानलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत सङ्कलन गरिरहेको बताए ।

मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के–कति क्षति भएको छ, त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको उनले जानकारी दिए । एक हप्ताभित्र लगत सङ्कलन भइ सक्ने र असार २० गतेसम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानलाई आउँदो आर्थिक वर्षमा क्षतिपूर्तिमार्फत सम्बोधन गरिने मन्त्रालयका सचिव कार्कीले बताए ।

उनले भने ‘एक हप्ताभित्र डाटा सबै ठाउँबाट सङ्कलन हुन्छ । असार २० गतेसम्म प्रारम्भिक रिपोर्ट तयार गर्न लागिरहेका छौँ । रिपोर्ट आइसकेपछि किसानलाई अर्को वर्षको कार्यक्रममा कसरी सम्बोधन गर्न सकिन्छ ? खासगरी बिउ, मल, प्रविधिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।

सङ्घीय सरकारबाट हाम्रो दायित्व प्रदेश र पालिकासँग समन्वय गर्ने हो । त्यो समन्वय हाम्रो शाखा, महाशाखाबाट भइरहेको छ । यो क्षतिबाट मुक्त हुन र अब बढीबाट क्षति नहोस् भन्न सतर्कताका लागि सन्देशहरू एफएममार्फत्, एप्समार्फत् दिइरहेका छौँ ।

आउँदो आर्थिक वर्षको कार्यक्रममा हामीले केही रकम क्षतिपूर्ति दिन सङ्घीय मन्त्रालयको बजेटमा पहिलो पटक व्यवस्था गरेका छौँ । भौगोलिक बनोटको आधारमा, बालीको आधारमा, नोक्सानीको आधारमा जिल्लामा रहेको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको समितिको सिफारिसको आधारमा यसलाई अगाडि बढाउँछौँ ।’

सचिव कार्कीले यस वर्ष औसत रूपमा धान रोप्न ढिलाइ भइरहेको बताए । अहिलेसम्म ५६ प्रतिशत धान रोपाइँ भएको उनले जानकारी दिए । यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

निरन्तर भेल, बाढी आइरहेमा सरकारको लक्ष्य प्राप्ति नहुने सचिव कार्कीले बताए । बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिन मन्त्रालयको ध्यान केन्द्रित रहेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.