२६ असार, रसुवा ।
पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा रहेको रोङ्गाखोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो ।
ठूलो पहिरो गएका कारण ब्लास्टिङ गरेर सडक सञ्चालनमा ल्याउनुपर्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा समितिको बैठक बसेर ब्लास्टिङ गर्ने निर्णय गरिएको र ब्लास्टिङ पश्चात सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
बर्खा सुरु भएसँगै जिल्लाको प्रमुख सडकहरूमा पहिरो जाने गरेको छ । यस वर्ष पनि दैनिकजसो सडक अवरुद्ध भइरहेको छ । पहिरोको कारण मैलुङ–स्याफ्रु सडक खण्ड असार १ गतेदेखि बन्द छ । पासाङ ल्हामु सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याउने गरिएको छ । आज अन्य क्षेत्रमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।