२९ असार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षड्यन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने बताएका छन् ।
सर्वोच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा मंगलबार अन्तिम संबोधन गर्दै ओलीले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका हुन् । ‘सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामनासमेत दिएका छन् । ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’
उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’