३१ असार, काठमाडौं ।
नेपाली कांग्रेसको बाढी, पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ वैशाखयताका बाढी–पहिरो पीडितका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ ।
बाढी, पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
बाढी, पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी, पहिरो पीडित विपद् व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।
बाढी, पहिरो लगायतका प्राकृतिक विपद् सधैँ आइरहने भएकाले नियमित क्यालेन्डर जस्तै गरी बेहोर्नुपर्नेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको संयोजक बस्नेतले बताए ।
समितिले २०७८ सालयता बाढी, पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने उनले बताए । उनले देशभरबाट बाढी तथा पहिरोले पु¥याएको भौतिक र मानवीय क्षतिबारे तथ्याङ्क सङ्कलन गरी राहत उपलब्ध गराइने जानकारी दिए ।
संयोजक बस्नेतले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बता । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी छन्।
त्यसैगरी समितिका सदस्यहरूमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव हुनुहुन्छ ।
त्यसैगरी आमन्त्रित सदस्यहरूमा पूर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मनोनित गरेको हो ।