२ साउन, काठमाडौं ।
पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुलेको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडकमाथिबाट आएको पहिरोले गएरातिदेखि सडक बन्द भएको थियो ।
पहिरो पन्छाएपछि सडक खुलेको र रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । यस वर्ष मनसुन सरु भएदेखि नै मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिराले असर पुर्याउँदै आएको छ ।
सहस्रधारा नजिकै नयाँ पुलमा केही दिन अगाडि पनि ठूलो ढुङ्गासहित खसेको पहिरो हटाउन एक हप्ता लागेको थियो । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो ।
कुश्मा–८ चुवा दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गको ठेक्का लिएको लामा कन्स्ट्रक्शनको गाडीसहित इञ्जिनियर र चालक बगाएर बेपत्ता बनाएको थियो । मोदी खोलामा पुगेको अवस्थामा गाडी भेटिएको भए पनि दुई जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।