नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

७ साउन, काठमाडौँ ।

एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन्।

सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएबमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताए। ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो। मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

ओली पक्षको तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए। त्यसपछि ओलीले मही नै मथेर भए पनि एकताका निम्ति पहल गर्ने बताएका हुन्।

उता नेपाललाई पनि पार्टी एकताका लागि दबाब बढेको छ। नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए। त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.