७५ प्रतिशत फर्म कारबाहीमा

७५ प्रतिशत फर्म कारबाहीमा

७ साउन, काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७÷७८ मा बजार अनुगमन गरेकामध्ये ७५ प्रतिशत व्यवसायी फर्म कुनै न कुनै जरिवाना वा कारबाहीमा परेका छन् ।

विभागले २०७७ साउनदेखि २०७८ असारसम्म उपत्यकाको विभाग र विभागअन्तर्गत देशभरका कार्यालयले अनुगमन गरेका पाँच हजार ७७९ वटा व्यवसायी फर्ममध्ये चार हजार ३०२ फर्म कारबाही वा जरिवानामा परेका हुन् ।

विभाग मातहतका कार्यालयले उक्त अवधिमा अनुगमन गरेकामध्ये एक हजार ३४७ वटालाई न्यूनतम पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना गरेको छ भने दुई हजार ४३८ वटामा म्याद नाघेका सामान नष्ट गर्ने र कागजात पेस गर्न निर्देशन दिएको छ ।

अनुगमन गरिएका व्यवसायी फर्ममध्ये ५१ वटाको सिलबन्दी गरिएको छ भने ४६६ वटा व्यवसायी फर्मलाई स्पष्टीकरण तथा बयानका लागि बोलाइएको विभागले जनाएको छ । यसैगरी विभागका अनुसार सो अवधिमा १९ वटा व्यवसायी फर्मविरुद्ध मुद्दा प्रक्रिया सुरु गरिएको छ ।

विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार ३४७ वटा व्यवसायी फर्मलाई जरिवाना गरेर झन्डै साढे तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा साढे चार करोड बराबरको सामान नष्ट गरिएको छ । विभागले सो अवधिमा अनुगमन गरेर म्याद नाघेका त्यो मूल्य बराबरका सामान नष्ट गरेको हो ।

विभागले उपत्यकामा मात्रै तीन हजार ९७४ वटाको अनुगमन गरेकामा तीन हजार ११ वटालाई जरिवाना, कारबाही गरेको छ । जसमध्ये एक हजार ३५ वटालाई आर्थिक जरिवाना र एक हजार ५९७ वटालाई सुधारको निर्देशन र अन्य कारबाही गरिएको विभागले जनाएको छ । उपत्यकाबाहिर एक हजार ८०५ वटा व्यवसायी फर्मको अनुगमन गरिएकामा एक हजार १७१ वटा कारबाही तथा जरिवानामा परेका छन् ।
वि
भागले उपत्यकामा मात्रै तीन करोड ७३ लाख ८४ हजार रुपियाँभन्दा बढी जरिवानाबाट राजस्व सङ्कलन गरेको छ भने दुई करोड ३९ लाख ८२ हजार बराबरको म्याद नाघेका सामान नष्ट गरेको जनाएको छ ।

उपत्यकामा अनुगमन गरेकामध्ये सबैभन्दा बढी सङ्ख्याको अनुगमन असोज, कात्तिक, पुसमा क्रमशः ४३९, ३६८ र ३५१ वटा गरेको देखिन्छ भने सबैभन्दा कम जेठ र असारमा क्रमशः १२० र १०० मात्रै अनुगमन गरेको पाइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.