७ साउन, काठमाडौं ।
एमाले माधव नेपाल पक्षका सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका सांसदले सर्वोच्च अदालतको फैसला र लोकतात्रिक मूल्यमान्यता अनुसार नै देउवालाई विश्वासको मत दिएको स्पष्टीकरण दिएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिंदै नेता नेपालले २३ फागुनको सर्वोच्चको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिंड्दा समस्या आएको बताएका छन् ।
११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ओलीले प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको भन्दै उनले भनेका छन्, ‘त्यसैले २७ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्रीले विश्वासको मत लिंदा म समेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनीय ठानेनौं र अनुपस्थित रहेका हौं । यो एक राजनीतिक निर्णय थियो ।’
धारा ७६ (२) अनुसार प्रधानमन्त्री रहेका ओलीले ३० वैशाखमा विश्वासको मत नपाएपछि संविधानको ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्ति भएका थिए । नेता नेपालले भने संसदीय दलको नेता परिवर्तन गरेर मात्र अल्पमतको सरकार बनाउनुपर्ने बताएका छन् ।
७ जेठमा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुनस्र्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको नेता नेपालले बताएका छन् । जवाफमा उनले भनेका छन्, ‘हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्यमान्यता अनुकूल रहेको छ ।’