१०साउन, काठमाडौं ।
नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदलका नेताहरुसँग आज दुवै तर्फका सांसदहरुले छलफल गर्दैछन् । सिंहदरवारमा दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।
सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गरेर अघि बढ्न सक्छ कि सक्दैन भनेर आफूहरुले सोध्न खोजेको बताए । उनले भने, ‘कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझायो । पार्टीले सहमति अनुमोदन पनि गरेको छ । अब त्यसका आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान को बाधक बन्यो त ? यसबारेमा हामीले कार्यदलमा रहेका नेताहरुलाई सोध्न खोजेका हौं ।’
अभियानमा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल, डा। सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा.दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।
दोस्रो तहका नेताहरुले अब पार्टी एकताबद्ध हुने कि नहुने भन्ने प्रष्ट पार्नुपर्ने सांसदहरुको मत छ । विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।