१२ साउन, पोखरा ।
पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरिद गर्न अनुदान रकम वितरण गरेको छ ।
महानगरलाई दूधमा आत्मनिर्भर बनाउन भैँसी प्रवद्र्धन कार्यक्रम अगाडी सारेको महानगरले १० ओटा भन्दा बढी भैँसी पाल्ने किसानलाई अनुदान रकम दिन थालेको हो ।
किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुुसार किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७ लाख छ हजार वितरण गरिएको हो ।
महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गीकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ । महानगरपालिकाले अन्य किसानहरूलाई पनि कृषि अनुदान दिइने कार्यक्रम अगाडी बढाएको छ ।