१३ साउन, काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोन संवाद भएको छ । नेपालको दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणकै दौरानमा ब्लिन्केनले नयाँ दिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका हुन् ।
ब्लिन्केनले टेलिफोन गर्दै नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिएका थिए । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि अमेरिकी सहायताका लागि धन्यवाद दिए ।कोरोनाविरुद्ध खोप सहायता, जलवायु परिवर्तन साथै द्विपक्षीय साझेदारी बारे उनीहरुको छलफल केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनीले पनि आफ्नो ट्वीटरमा समेत प्रधानमन्त्री देउवासँगको संवादबारे लेखेका छन् ।
‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज कुरा गर्न पाउँदा मलाई खुसी लाग्यो । अमेरिका नेपाल साझेदारीको प्रगति साथै कोभिड १९ विरुद्ध हाम्रो साझा लडाइँ र जलवायु परिवर्तनको असरबारे हामीले छलफल र्गयौँ,’एन्टोनीले ट्वीटरमा लेखेका छन् ।
प्रधानमन्त्री देउवाले १५ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराएकोमा अमेरिका सरकारलाई धन्यवाद समेत दिएका थिए । साथै तेस्रो लहरबाट बच्न थप खोप सहायताका लागि आग्रह समेत गरेका थिए ।
यस्तै नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई प्रधानमन्त्री देउवाले धन्यवाद दिएका थिए । प्रधानमन्त्री देउवा र विदेशमन्त्री एन्टोनीबीच एमसीसी सहित नेपालका विविध विकासका प्राथमिकता क्षेत्रबारे पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ । जलवायु परिवर्तनका असर तथा नेपाल जस्ता हिमाली देशहरुको अर्थतन्त्रमा पार्ने असरबारे पनि उनीहरुले छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसवाहेक विदेशमन्त्री एन्टोनीमार्फत प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई समेत बधाइ तथा शुभकामना सन्देश पठाएको जनाइएको छ ।