पाँच वर्षीय बालकको हत्या आरोपमा बुवा र आमा पक्राउ

पाँच वर्षीय बालकको हत्या आरोपमा बुवा र आमा पक्राउ

१५ साउन, बर्दिबास ।

महोत्तरीमा पाँच वर्षीय बालकको हत्या आरोपमा बुवा र आमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–६ विशम्भरपुरका चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डिएसपी प्रकाश विष्टका अनुसार बुधवार साँझदेखि बालक रितेश हराइरहेका थिए । बालक हराएपछि चारै तिर खोजतलास गरेपनि रातीसम्म भेटिएको थिएन । बिहीबार बिहानै बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारिमा रहेको केराको बोट नजिक मृत अवस्थामा परालले छोपेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालकको शव शङ्कास्पद अवस्थामा फेलापरेसँगै बुबा र कान्छी आमा सम्पर्क विहीन बने पछि स्थानीयले हत्या आशङ्का गर्दै फरार बुवा र कान्छी आमाको खोजतलास सुरु गरेका थिए ।

खोजतलासको क्रममा कान्छी आमा रागनीलाई उनको माइती धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट र बुवालाई रामगोपालपुरमै लुकिछिपी बसेको अवस्थामा बिहीबार राती पक्राउ गरिएको डिएसपी विष्टले बताए ।

चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसँग मागी विवाह गरेका थिए । पहिलो श्रीमतीको दुई छोरा भएपनि चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासँग दोस्रो बिहे गरेका थिए ।

यता रागनीसंग दोस्रो बिहे भएपछि परिवारमा खटपट हुँदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा छोडी केही दिन देखि माइतीमा बस्दै आएकी थिइन् ।

डिएसपी विष्टले पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी थप अनुसन्धान भइरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.