मेलम्चीकाे बाढीले पुलसहित १७ घर टहरा बगायो

मेलम्चीकाे बाढीले पुलसहित १७ घर टहरा बगायो

१७ साउन, सिन्धुपाल्चोक ।
शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बगाएका टहरा मध्ये नौ पक्की र आठ कच्ची रहका थिए ।

गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । वाढीले आज विहान पुल बगाएको स्थानीयवासी हस्त पण्डितले जानकारी दिए । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए ।

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.