१७ साउन, कैलाली।
कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आईतबार कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेका मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा बेपत्ता भएका हुन् ।
डुंगामा १० जना सवार थिए । प्रहरीका अनुसार उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै थिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ ।
घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको जनाइएको छ ।