१८ साउन, बुटवल ।
लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले एमालेमै फर्किएकी छन् । उनले सोमबार विज्ञप्ति प्रकाशित गरी आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी हुन् ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित वलीले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।उनले भनेकी छन्, ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु । नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’
दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।
विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ । प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।