१९ साउन, भजनी।
कैलालीको भजनी नगरपालिका–३ की सीमादेवी डंगौरा धान भित्र्याउन खेतमा व्यस्त छिन् । उनी चैतमा लगाएको धान दोस्रो पटक भित्र्याउन व्यस्त देखिएकी हुन्।
असारको पहिलो सातासम्म पहिलो पटक चैते धान भित्र्याएकी सीमादेवी मात्रै होइन, यतिखेर भजनीका किसान दोस्रो पटक चैते धान भित्र्याउन खेतमा व्यस्त देखिएको हुन् । बाढी र डुबानका कारण बर्खे धान रोप्नै छाडेका किसानको मुख्य स्रोत नै चैते धान बनेको छ । केही उच्चो ठाउँ भएका किसानले चैते धान भित्र्याएसँगै बर्खे धान रोपे पनि डुबानको जोखिम भएका क्षेत्रमा किसानले धान रोपेका थिएनन् ।
“हामीले एक बिघामा चैते धान रोपेका थियौँ । त्यसबाट करिब ४० क्विन्टल धान उत्पादन भएको थियो”, सीमाले भनिन्, “बाँकी रहेका डाँठबाट फेरि धानको पालुवा आएसँगै अहिले पुनः दोस्रो पटक खेतमा धान पाकेको छ । त्यही धान भित्र्याउन लागेका हौँ ।” उनले तत्काल बाढी नआए लगाएको सबै धान भित्र्याउन सक्ने अवस्था भएमा २० देखि २५ क्विन्टल धान उत्पादन हुने बताएकी छन् ।
सोही ठाउँका चुनीराम डंगौराले एक बिघा १० कठ्ठामा चैते धान रोप्नुभएको थियो । पहिलो चरणमा करिब ७० क्विन्टल धान उत्पादन गर्न सफल भएका चुनीरामलाई त्यही खेतबाट पुनः धान भित्र्याउन हतारो छ । “मौसमले राम्रो साथ दिएको छ । उत्पादन भएको सबै धान भित्र्याउन सके अझै ३० देखि ३५ क्विन्टल धान उत्पादन हुन्छ होला”, चुनीरामले भने, “बर्खे धानभन्दा चैते धान कैयौँ गुणा उत्पादनका लागि राम्रो छ । हाम्रा आम्दानी र परिवार पाल्ने स्रोत नै चैते धान बनेको छ ।” उनले बाढी आउने क्षेत्रमा चैते धानको आकर्षण बढ्दै गएको भन्दै चैतमा धान रोपेका अधिकांश किसान दोस्रो पटक धान भित्र्याउन अहिले खेतमै देखिने गरेको बताए।
किसान छेदुलाल डंगौराले सात कठ्ठामा २० क्विन्टल धान फलाउन सफल भएको बताउँदै अहिले दोस्रो पटक पनि सोही खेतमा सात क्विन्टल धान फलेको बताए । “उत्पादन राम्रो छ । तर बर्खे धानभन्दा चैते धानमा मेहेनत बढी गर्नुपर्छ”, उनले भने, “बेमौसम भएका कारण भएर होला धानको उचित मूल्य भने पाइएको छैन ।” धानको मूल्य मनलाग्दी हुँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता रहेको छेदुलालको भनाइ छ । उनले बर्खे धानको सिजनमा सरकारले नै धानको न्यूनतम मूल्य निर्धारण गर्ने गरेको बताउँदै भजनी क्षेत्रमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने भएका कारण त्यसको मूल्य निर्धारण पनि गरिदिएको भए किसानलाई राहत मिल्ने बताए ।
रबिना चौधरीले दोस्रो पटक पनि खेतमा औषधि र मलखाद हालेका कारण पहिला पटक जति नै चैते धान उत्पादन हुने बताइन् । “हामीले धेरै त लगाएका छैनौँ । थोरै भए पनि बाहिरबाट हेर्दा पहिलो पटक नै भित्र्याउन लागिएको धानजस्तो देखिन्छ”, उनले भनिन्, “पहिलो पटक उत्पादन भएको धान घरको लागि राखेका छौँ । अब दोस्रो पटक उत्पादन हुने धान बिक्री गरेर अन्य घरायसी खर्चको जोहो गर्ने योजना छ ।”
गत वर्ष प्रतिक्विन्टल दुई हजार ७०० मा बिक्री गरेकामा यस वर्ष किसानले प्रतिक्विन्टल रु दुई हजारका दरले धान बेच्नुपरेको किसान रामकृष्ण डंगौराले बताए । उनले विगत १० वर्षदेखि चैते धान खेती गर्दै आएको बताउँदै बाढीको समस्या नभएको वर्षमा तीन पटकसम्म धान भित्र्याइएको स्मरण गरे। “पहिलो पटक असारमा, दोस्रो पटक भदौमा र तेस्रो पटक असोजमा एउटै बाली भित्र्याएका पनि छौँ । उत्पादनमा पहिलो चरणजस्तो नभए पनि मेहनतअनुसार राम्रो हुने गरेको छ”, उनले भने, “एक पटक गरेको मेहनतले तीन पटक धान भित्र्याउन पाए त्योभन्दा अरू के चाहियो । त्यसका लागि बाढी र डुबानको समस्या आउनु भएन ।”
उनले बाह्रै महिना खेतमै रहने किसानले अहिलेसम्म राज्यबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे । उनले आफूहरूले लगाएको धान खेतीको फोटो खिचेर अन्यत्रै किसानको नाममा कृषि सामग्री वितरण हुने गरेको भन्दै वास्तविक किसान अझै पनि राज्यको पहुँचमा पुग्न नसकेको बताए। “फोटो हाम्रो खेतबाट खिचेर लग्छन् । जसले खेतमा काम गर्दैनन् र पहुँचमा छन्, उनैले अनुदान पाउँछन्”, उनले भने, “हाम्रो कुनै ठाउँमा पहुँच पनि छैन । हामीलाई उपलब्ध गराइदिने कुनै निकाय पनि छैन । जति सक्यो आफ्नो शक्तिले गर्नुपर्ने बाध्यता छ ।” भजनीमा करिब ५०० बिघा बढी क्षेत्रफलमा चैत धानको खेती भएको नगरपालिकाले जनाएको छ ।रासस