२० साउन, चितवन ।
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू फेरी पनि स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले सरकारमा आएर काम गर भने आफु गर्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ। ’ देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे । उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए ।
भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा सरकार डराउन नहुने थापाको भनाइ छ । ‘नागरिकको जीवन रक्षा सरकारको आधारभूत जिम्मेवारी हो, अनुसन्धान गरेर सरकारले पुष्टि गर्नुपर्छ’, नेता थापाले भने, ‘सरकार न्यायका लागि लडोस्, नडराओस् ।’
उनले भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको बताए ।