राष्ट्रिय सभाबाट तथ्याङ्क र योगमाया विश्वविद्यालय विधेयक पारित

राष्ट्रिय सभाबाट तथ्याङ्क र योगमाया विश्वविद्यालय विधेयक पारित

२० साउन, काठमाडौँ ।

राष्ट्रिय सभाको आजको बैठकले तथ्याङ्क विधेयक २०७६ र योगमाया विश्वविद्यालय विधेयक २०७६ पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तथ्याङ्क विधेयक २०७६ तथा योगमाया विश्वविद्यालय विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।यसैगरी बैठकमा मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ वार्षिक प्रतिवेदन पनि पेस गरे ।

यसैगरी बैठकमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत् विधेयक २०७७ पेस गरे । बैठकको विशेष समयमा बोल्दै सांसदहरूले दार्चुला घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।

सांसदहरू नारायणकाजी श्रेष्ठ, अनिता देवकोटा, गोपीबहादुर अछामी लगायतले प्रारम्भिक तथ्यहरूका आधारमा घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता देखिएको हुनाले भारतसँग उच्चस्तरीय वार्ता मार्फत समस्या समाधान गर्न सरकारसँग माग गरे ।

सांसद रमेशजंग रायमाझीले वैदेशिक रोजगारीमा जाने सबै नेपालीलाई तुरुन्त कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरे । राष्ट्रिय सभाको अर्को बैठक साउन २२ गते शुक्रवार दिउँसो १ बजे बस्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.