महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

२० साउन, काठमाडौँ ।
जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

बुधबार ठाकुरको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी नगरेको हो ।

विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले निवेदक ठाकुरको मागअनुसार किन गर्नु नपर्ने हो त्यसको आधार र कारण खुलाइ बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आयोग र यादवलाई भनेको छ ।

जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर पेस गर्न पनि इजलासले भनेको छ । केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले यादवको पक्षमा सनाखत गरेपछि निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता यादवलाई दिएको थियो ।

आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । ठाकुरले आयोगको निर्णयले आफूलाई आघात पुगेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.