काँग्रेस सभापतिमा उम्मेदवारी दिन्छु : निधि

काँग्रेस सभापतिमा उम्मेदवारी दिन्छु : निधि

२२ साउन, धनुषा ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।” उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताए ।

उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए । उनले भने, “भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल सुरु भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन ।”

पूर्वउपप्रधानमन्त्री निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुङ्ग्याइसकेकाले अब चाँडै मन्त्रिपरिषद् पनि विस्तार हुने बताए । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको हुँदा मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको उनको भनाइ थियो ।

उनले भने, “माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन ज–जसले सहयोग गर्नुभएको छ, उहाँहरू सबै पक्षलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ, त्यसैले केही ढिला भएको हो ।” सबै दललाई सरकारमा सहभागी गराउने आफूहरूको चाहना भएको र त्यसका लागि छलफल भइरहेको उनले जनाए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.