एक वर्षमै लटरम्म फल्न थाले स्याउ, ढुवानी गर्न बारीभित्रै हेलिप्याड

एक वर्षमै लटरम्म फल्न थाले स्याउ, ढुवानी गर्न बारीभित्रै हेलिप्याड

२५ साउन, कास्की ।
उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।
चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए ।

चुमनुब्री किसान समूहलाई गत वर्षका असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ, उनले भने, “गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मे फलेको छ ।” त्यहाँ स्थानीय किसान मिलेर समूहमा व्यावसायिक स्याउ खेती गर्न शुरुआत गरेका थिए ।

प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए। “रोपिएकामध्ये ११४ बोट हुर्किएनन् । अरु सबै बोट राम्रोसँग हुर्किएका छन् उनले भने,“पहिलो वर्षमा नै सोचे भन्दा धेरै राम्रो फल दिन थालेको छ ।” एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उहाँको भनाइ छ ।

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट शुरु गरिएको छ । “अहिले एउटा बोटमा पाँच केजीसम्म बढी फलेका छन्, वडाध्यक्ष लामाले भने “साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु पर्यो ।”
स्याउलाई वन्यजन्तुबाट जोगाउन तारबार गरिएको र स्याउ फार्मभित्र अहिले दैनिक आठले नियमित रुपमा काम गर्दै आएका छन् । इटालीबाट ल्याइएका ती विरुवा खच्चडबाट उत्तरी गोरखामा ढुवानी गरेर पुर्याएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको भए तापनि विदेशी जातको स्याउ उत्पादन भने पहिलो पटक भएको बताइएको छ ।

‘परीक्षणका लागि पनि भने फरक प्रजातीको स्याउ खेती गरिएको शुरु गरिएको थियो’ उनले भने, ‘स्याउले पहिलो वर्ष नै राम्रोसँग फलदिएकाले राम्रो आम्दानी हुन्छ भन्ने किसानको विश्वास छ ।’ स्थानीय किसान मिलेर पोरमा गत वर्षदेखि करिब १०० रोपनीमा अहिले स्याउ खेती गरेका थिए । “करिब ३०० रोपनी जग्गा स्याउ खेतीका लागि भाडामा लिइएको छ”, उनले भने, “बेर्नाको अभावका कारण तत्काललाई सय रोपनी क्षेत्रफलमा बेर्ना लगाइएको थियो, बाँकी जमिनमा पनि बेर्ना थप्दै जाने योजनामा किसान छन् ।” सडक सञ्जालले नछोएको उत्तरी गोरखामा उत्पादन हुने स्याउलाई बजारसम्म पुर्याउनका लागि भने ढुवानी समस्या रहदै आएको छ ।

उत्पादित स्याउलाई समयमा बजारसम्म लैजान खच्चड र हेलिकप्टर बाहेकको विकल्प छैन र् । खच्चडमार्फत बजारसम्म लैजान काठको बाकस बनाउन थालिएको किसानको भनाइ छ । हेलिकप्टरमार्फत ढुवानी गर्न मिल्ने गरी स्याउबारीभित्रै हेलिप्याड निर्माण गरिएको छ, उनले भने, “बजारमा पु¥याउन नसक्ने अवस्था भएमा स्याउलाई लामो समयसम्म ताजा राख्नका लागि शीतभण्डारको समेत निर्माण भइरहेको छ ।

त्यहाँ उत्पादन भइरहेको गोल्डन, फूजी, गाला, रेड डेलिसेस र किङ्ग डेलिसेस नेपाली बजारमा प्रति केजी रु ३०० देखि ५०० सम्ममा बिक्री हुँदै आएको छ । चुमनुब्री किसान समूहले भने पहिलो पटकको उत्पादन गरिएको इटालियन जातको स्याउ गोरखा र छिमेकी जिल्लामा प्रति केजी रु २५० मा बिक्रीगर्ने लक्ष्य राखेको उनले बताए । समूहले करिब रु एक करोड २० लाख का लागतमा गत वर्षदेखि स्याउ खेती शुरु गरेको थियो । स्थानीयवासी लाक्पा डुन्डुप लामासहित सात जनाको टोलीले नामरुङका पोरमा जमिन भाडामा लिएर व्यवसायिक खेती सुरु गरेको थियो ।–दीपक श्रेष्ठ/रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.