२५ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको अध्यक्ष पद पनि गएको छ ।
निर्वाचन आयोगले जसपा पार्टी अधिकारिकताको विवादमा उपेन्द्र यादवको पक्षमा उभिएका ३५ जना केन्द्रीय कार्यकारिणी समितिलाई आधिकारिक रुपमा अभिलेखीकरण गरेसँगै जसपाको अध्यक्ष ठाकुर वैधानिक रुपमा पार्टीको अध्यक्षबाट हटेका हुन् ।
जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।
अभिलेखसँगै जसपाको केन्द्रीय कार्यकारिणी समिति ३५ जना भएका छन् भने वैधानिक अध्यक्ष उपेन्द्र यादव भएका छन् ।
आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन ।
कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन ।