२५ साउन, काठमाडौँ ।
सरकार परिवर्तन भएसँगै पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका धेरै निर्णयहरु शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिसकेको छ । यही सिलसिलाभित्रको एउटा प्रक्रियामा पर्याे रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई सोधिएको स्पष्टीकरण । गत मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गर्याे। आचरणविपरीत काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
भट्टराईलाई केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । भट्टराईले आचरणविपरित काम गरेको भन्दै मंगलबार देउवा नेतृत्वको सरकारले उनलाई स्पष्टीकरण सोध्ने निर्णय सुनाएकोे भोलीपल्टै उनी सरकारमाथि खनिए । सामाजिक सञ्जालमा निकै सक्रिय भट्टराई सत्ता गठबन्धनका नेताहरुप्रति आक्रोश व्यक्त गरे । उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको दवाब रहेको दाबी गरे । ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिब नागरिकका छोराछोरीलाई हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर ।’ उनले चेतावनी पनि दिए ।
सोमबार त झन उनले सरकारलाई स्पष्टीकरण पनि नदिने उद्घोष गरे । भट्टराइले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले राजनीतिक स्पष्टिकरण सोधेकाले त्यसको जवाफ दिन नमिल्ने बताएका छन् । ’नेपाल सरकारको कर्मचारी भएकाले मैले राजनीतिक जवाफ दिन मिल्दैन’, उनले भने,’ राजनीतिक जवाफ दिने मैदानमा हो । मैदानमा नै गएर दिउँला ।’ उनले आफुलाई बर्खास्त गर्ने योजना अनुरुप राजनीतिक स्पष्टिकरण सोधिएको पुनः दाबी गरे । सरकारले उनलाई कर्मचारीको आचरण विरुद्ध काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार महाप्रबन्धक भट्टराईसंग तीन दिनभित्र पेश गर्ने गरे लिखित स्पष्टिकरण मागेको छ । इमान्दारीपूर्वक काम नगरेको, अदालतको फैसलाको सम्बन्धमा अमर्यादित टिकाटिप्पणी गरेको, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय र गाली गलौजको शैलीमा टिप्पणी गरी सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक जिम्मेवारी अनुरुप काम नगरेक आधारमा महाप्रबन्धक पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधिएको छ । तर भट्टराईले भने उनको कार्यक्षमता वा कार्य सम्पादनको विषयमा केही उल्लेख नगरी सामाजिक संजालमा सरकारविरुद्ध लेखेको भनेर स्पष्टिकरण सोधिएकाले जवाफ नदिने बताए ।
राजीनामा दिनुपरे मंगलबारसम्म समय रहेकाले निर्णय गर्ने उनको भनाइ छ । उनले शून्यमा रहेको कम्पनीलाई रेल संचालन योग्य बनाएको दाबी गरेका छन् । रेल संचालनको जिम्मा भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनलाई दिइएको छ । एक बर्षमा २२ करोड भारु तिर्ने गरी कम्पनीसँग सम्झौता भएको छ । कम्पनीले २६ जना मुख्य प्राविधिक, रेल मर्मत, सर्भिसिङ, सिग्नल मर्मत, कर्मचारी तालिम लगाएतका सबै काम गर्नुपर्नेछ । २÷४ दिन भित्रै ८ करोड रुपैया भुक्तानी नदिए कम्पनीले सम्झौता तोड्न सक्ने भट्टराइको भनाइ छ । भुक्तानी दिन सबै तयारी भएर चेकमा साइन हुने बेला सरकारले स्पष्टीकरण सोधेकाले भुक्तानी दिन नसकेको उनको दाबी छ । पत्रकार सम्मेलनमा उनले आफु नियुक्त भएर आएको १३ महिनामा करिब २ करोड रुपैयाँ खर्च भएको बताएका छन् । जसमा १ करोड रुपैयाँ बढीको गाडी र फर्निचर खरिद गरेको उल्लेख गरेका छन् ।