२५ साउन, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मन्त्री परिषद्को विस्तारमा ढिलाइ हुँदा सरकारले गर्ने काम नरोकिएको बताएका छन् । सोमाबार काठमाडौंमा आयोजिक एक अन्तरक्रियामा बोल्दै उनले मन्त्री धेरै भएर मात्रै मुलुक बन्ने नभइ मुलुक बन्नका लागि इच्छा शक्ति र कार्ययोजना हुनुपर्ने बताए ।
मन्त्री नबन्दा राष्ट्रको खर्च कमभएको उनले टिप्पणी गरे । मन्त्री बन्ने नबन्ने भन्दा पनि सरकारले कसरी र के कामगर्न भन्ने विषय मुख्य भएको भन्दै उनले सरकारले प्राथमिकताको क्षेत्र तोकेर काम गरिरहेको बताए ।
उनले भने – ‘इच्छशक्ति बिना, कार्ययोजना बिना मन्त्री धेरै भएर मुलुक बन्छ भन्ने कुरा होइन । काम गर्न केहीले रोकेको छैन । मन्त्री नबन्दाखेरी राष्ट्रको खर्च कम भएको छ । मन्त्री कम बनाएर मुलुक चल्छ भने भोली संविधान संशोधन गरेर थोरै मन्त्री भएको व्यवस्था गरौँला । यति धेरै सांसद चल्न सक्दैन भने थोरै सांसद बनाउँला संविधान संशोधन गरेर । यसले धेरै ठुलो असर गर्दैन । तर असर कसले गर्छ भने सरकारले कसरी काम गर्छ, के गर्छ भन्ने कुरा हो । त्यसका निम्ति हिजो कार्ययोजना लिएर आएका छौँ । पहिलो प्राथमिकता कोरोना नियन्त्रण हो ।’