२६ साउन, जनकपुर ।
अदालतले एसिड विक्रेतालाई सफाइ दिएकोमा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालत पुगेकी एसिडपीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ । उनले एसिड विक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छिन् ।
भाइ राजा साहसँगै धनुषा जिल्ला अदालत पुगेकी आरतीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।एसिड विक्रेता नागेन्द्रलाई सफाइ दिएको खबर सुनेपछि आरती काठमाडौंबाट आज बिहान जनकपुर आइपुगेकी थिइन् ।
आरतीलाई अदालतको मुख्य गेटमै सुरक्षाकर्मीले रोकेको थियो । प्रहरी कार्यालयमा आरती र उनका भाइ राजालाई राखिएको छ । अदालत परिसरमा गएर होहल्ला गरिरहेकाले आरती र उनको भाइ राजालाई जिल्ला प्रहरी कार्यालय लिएर आएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले स्वीकार गरे । उनले आरतीसँग सोधपूछ भइरहेको बताए ।
जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई कसुर ठहर गरेको थियो । एसिड विक्रेता नागेन्द्र साहले भने सफाइ पाएका छन्, जसलाई थुनछेक बहसपछि धरौटीमा छाडिएको थियो ।