२६ साउन, एजेन्सी ।
अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग लागि सहमति जनाएका छन् । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति जनाएका हुन् ।
द एथ्लेटिकका अनुसार लगातारको छलफलपछि दुई पक्ष सहमतिमा आएका हुन् । मेस्सीका पिता तथा एजेन्ट जोर्गे मेस्सीले पिएसजीसँग निरन्तर सम्पर्कमा रहेर चाँडै सम्झौता टुंगो लगाएका थिए । गत विहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो ।
मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ।
पिएसजीले अब चाँडै मेस्सीलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछ । पिएसजीले आजका लागि आएफिल टावर बुक गरेकाले सार्वजनिक कार्यक्रम हुने सम्भावना पनि छ ।