२६ साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार नेताहरुलाई फेरि चुनाव जिताएर ल्याउने बताएका छन्।
मंगलबार आफूनिकट अनेरास्ववियुले एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्यााएका आशिष झाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘शाहस र बहादुरी देखाएका’ नेताहरुलाई फेरि चुनाव जितेर ल्याउने बताएका हुन्।
उनले भने, ‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन, उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरुलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले आफू कसैको टाङमुनि नजाने बताए। ‘हामी कसैको टाङमुनि जानेवाला छैनौं, अँध्यारो सुरुङमा छिर्नेवाला छैनौं’, नेपालले भने।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए। उनीहरुलाई एमालेले सांसद र पार्टीको साधारण सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले शुरुमा अन्तरिम आदेशमार्फत् त्यसमा रोक लगाए पनि पछि उनीहरुलाई कारबाही गर्ने एमालेको निर्णय सदर गरेको थियो।