२७ साउन, बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै उनले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।
सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
अब प्रदेशप्रमुखले सरकार गठनको आह्वान गर्नेछन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।