२७ साउन, पर्वत ।
विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतमा निर्माणाधीन जिप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिपलाइन आगामी दशैसम्म सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।
जिल्लाका सात जना युवाको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रा.लि.का निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।
‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ । तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,’ निर्देशक बस्नेतका अनुसार, ‘पर्वतमा एडभेन्चर टुरिजमको विकासका लागि यो जिपलाइन पनि महत्त्वपूर्ण हुने छ ।’ जिपलाइन सहित एडभेन्चर खालका अरू कामहरू पनि हामीले गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।
जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताए । यस्तै, ६ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्विमिङ पुल निर्माणको काम सक्ने उनको भनाई छ ।
जिल्लामा निर्माण सम्पन्न भएका र हुँदै गरेका संरचनाले पर्यटकको आकर्षणको केन्द्र पर्वत बन्दै गएको छ । गत बर्ष देखि सञ्चालनमा आएको बन्जी हेर्न नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू पर्वत आउने गरेका छन् । करौडौ लगानी गरेर बनाइएका यस्ता संरचना हेर्न आन्तरिक तथा बाह्य पर्यटक पर्वत आउँदा सञ्चालक मात्र होइन कुश्मा बजारका होटल व्यवसायीहरू लगायत अन्य व्यवसायीहरुलाई पनि फाइदा पुग्ने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए ।