२८ साउन, रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।
मुख्यमन्त्री पदमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाकाे गठबन्धनले हस्ताक्षर बुझाएकाे हाे ।
प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समय सीमा निर्धारण गरेका छन् । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।
प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।