श्वेतपत्र अघिल्लो सरकारको विरोधमा केन्द्रित भएको आरोपपत्र : विष्णु पौडेल

श्वेतपत्र अघिल्लो सरकारको विरोधमा केन्द्रित भएको आरोपपत्र : विष्णु पौडेल

२८ साउन, काठमाडौं।
निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा प्रस्ततु गरेको श्वेतपत्रलाई आरोपपत्र भएको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले कोरोना महामारीका कारण आर्थिक गतिविधि र विकास खर्च हुन नसकेको प्रतिकुल अवस्थालाई विगतका अनुकुल अवस्थासँग तुलना गरिएको बताए ।

उनले भने–‘ देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी भनेर अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको उक्त आलेख सरसर्ती सुन्दा र गहिरोगरी अध्ययन गर्दा अघिल्लो सरकारका कामहरुका बारेमा अघिल्लो सरकारको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित भएको एउटा आरोपपत्रमा प्रस्तुत भएको पाएँ ।’

उनले सत्ता पक्ष र विपक्षका बीचमा नीति विचार र दृष्टिकोणमा मतभिन्नता हुनसक्ने भए पनि मुलुकको आर्थिक अवस्थाको तथ्यांकको बारेमा कुनै विमति हुन नहुने बताए।

उनले आर्थिक वर्ष २०७६(७७ को समय विश्व अर्थतन्त्र साढे ३ प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशत मात्रै ऋणात्मक हुनु सुखद भएको बताए ।

‘कोभिड अवधिको वृद्धिदरको सहारा लिएर आर्थिक वर्ष ०७५-७६ मा भएको ७ प्रतिशतको वृद्धिदरलाई बिर्सन खोजिएको छ’ पूर्वअर्थमन्त्री पौडेलले भने ।

कोरोना महामारीकै कारण विकास खर्च हुन नसकेको भन्दै पौडेलले श्वेतपत्रमा त्यसलाई उल्लेख नै नगरिएको बताए । अघिल्लो सरकारले सार्वजनिक ऋण धेरै लिएको विषय पनि श्वेतपत्रमा समेटिएको थियो । तर पूर्वमन्त्री पौडेलले सार्वजनिक ऋण विकास खर्चमा मात्र लगाएको दावी गरे ।

उनले अहिलेको सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको भन्दै आफूले ल्याएको भन्दा लोकप्रिय र सबैले मन पराउने बजेट ल्याउन चुनौती दिए ।

उनले भने– ‘अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको छ । ठीक छ प्रतिस्थापन विधेयक ल्याउनुस्, तर हामीले प्रस्तुत गरेको भन्दा राम्रो ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.