२८ साउन, काठमाडौं ।
सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद्ले सरकारलाई पटकपटक ‘परमादेशको सरकार’ भनेपछि नेपाली कांग्रेसका सांसद गगन थापाले जवाफ फर्काएका छन्।
बिहीबारको प्रतिनिधिसभामा बैठकमा विशेष समय लिएर बोल्दै उनले उनीहरूको चित्त दुखेर त्यस खालको भाषा प्रयोग गरेको हुनसक्ने बताए।
उनले भने ‘म सरकारलाई भन्छु- चित्त नदुखाउनुस्। चित्त दुखेर भन्नुभएको होला। बोसो लागेको बेलामा प्रतिपक्षमा बस्दै गर्दा गाह्रो हुन्छ, केही समय। बिस्तारै बिस्तारै बानी पर्छ ।’
उनले परमादेशको सरकार भनेकोमा चित्त नदुखाउन समेत आग्रह गरे। उनले भने, ‘अघि यहाँ एकजना माननीयज्यूले भन्नुभयो। यहाँ बोल्दै गर्दा जतिपटक परमादेश भने पनि त्यही परमादेशका आधारमा माननीयज्यूहरु यहाँ आउनुभएको छ। थपक्क बस्नुभएको छ। कोही जानेवाला हुनुहुन्न, राजीनामा दिएर। बिल्ला लगाएरै आउनुहुन्छ। म सरकारलाई भन्छु- चित्त नदुखाउनुस् ।’
उनले मन्त्रिपरिषदले विस्तार हुन नसक्नुको कारण समेत माग गरेका छन् । ‘मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको ? भित्र घचमच के छ यो जनताले बुझ्दैन’ उनले भने ।
नयाँ सरकारले कामबाटै जनतालाई जवाफ दिनुपर्ने भन्दै उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।
सांसद थापाले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सशस्त्र युद्धका घाइतेहरुलाई उपचार नपाए आफ्नो पार्टी कार्यालयमा आउन गरेको आग्रहप्रति आपत्ति जनाउँदै भने- ‘विचराहरु आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनेले पार्टी कार्यालयमा गए कसरी उपचार गराउला ?’