मोरङका विभिन्न नदीमा आउने बाढी नियन्त्रणमा “प्रकोपाइन” प्रविधि प्रभावकारी

मोरङका विभिन्न नदीमा आउने बाढी नियन्त्रणमा “प्रकोपाइन” प्रविधि  प्रभावकारी

विराटनगर, असार २३

मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ ।जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा बाढी आउँदा जमीन कटान रोकिएको छ ।

उपभोक्ताको सहयोगमा निर्माण गरिएको यो प्रविधिमार्फत तटबन्ध निर्माण पश्चात् गाउँघरका उब्जनी हुने खेताबारी संरक्षण भई किसान सकुम्वासी हुनबाट जोगिएका छन् । मोरङको बक्राहा , चिसांङ, लोहन्द्रा, केशलिया तथा सिंगिया खोलामा पकोपाइन प्रविधिसंगै तारजाली गरेर तटबन्धको कामलाई समेत तीव्रता दिएको छ । पूर्वी मोरङको बक्राहा खोलामा तारजालीसहित प्रकोपाइन विधि अपनाएपछि कटान रोकिएको डिभिजन कार्यालय प्रमुख डा देवनारायण साहाले बताए।

रंगेली, सुनवर्सी, रतुुवामाई नगरपालिका तथा लेटाङ गाउँपालिकाका विभिन्न खोलामा यो विधि अपनाएर तटबन्ध निर्माण गरिएको छ । बक्राहा खोलामा यो प्रविधि अपनाएर चार किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण पश्चात खोलामा बाढी आउँदासमेत पानीको बहाव नियन्त्रण हुँदा जोखिम कम भएको डा साहको भनाइ छ । यो प्रविधि अपनाएपछि यस पटकको बाढी आउँदा कटान रोकिएको सुुनवर्सी नगरपालिकाका राकेश मण्डलले बताए । दीर्घकालीन तटबन्धनका लागि पर्याप्त बजेट नभएपछि स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट सस्तो र सहज हुने यो विधि यस क्षेत्रमा प्रभावकारी बनेको हो ।

थोरै बजेटले सबैतिर तटबन्ध निर्माण समस्या उत्पन्न भएकाले कटान रोक्न र जोखिम हुन नदिन स्थानीय सामग्रीको प्रयोग गरी उपभोक्ताको सहयोगमा यो विधि अपनाएर तटबन्ध गरिएको कार्यालय प्रमुख डा साहको भनाइ छ । बाँस, बाँसको कर्ची र घाँस, पराल, भुसको प्रयोगबाट बाँसलाई दुम्सिको काँडाको आकारमा बनाई कटान हुने ठाउँमा तटबन्ध निर्माण गरिने गरिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.