२९ साउन, काठमाडाैँ ।
लुम्बिनी प्रदेशमा ४ दलीय गठबन्धनलाई सघाउँदै मन्त्री बनेका सांसद अजय शाहीलाई नेकपा एमालेले कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।
एमालेले सुर्य चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारवाही प्रक्रिया अघि बढाएको हाे ।
एमाले सचेतक भूमिश्वर ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् । त्यस्तै वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको उनले बताए।
स्पष्टीकरण पत्रमा शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्यन गरी बैठकमा किन भाग लिएको भन्दै शाहीलाई प्रश्न गरिएको छ। ‘२०७८ श्रावण २७ गते असंवैधानिक हिसाबले सविधानको भावना र मर्म विपरित प्रदेश प्रमुखले प्रदेश सभाको बैठक समावेदन गर्न र त्यसमा प्रदेश सरकार मुख्यमन्त्री मा. शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्यन गरी बैठकमा किन भाग लिनु भयो। सरकारको विरुद्धमा ल्याएको अविश्वासको पक्षमा किन हस्ताक्षर गर्नु भयो ?’
एमालेले बहिस्कार गर्ने भनेको प्रदेश सभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन्।
नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका उनले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएको जनाएका थिए।
हृदयेश त्रिपाठीनिकट शाहीले आफु सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताए।