कांग्रेसको महाधिवेशनको कार्यतालिका आज पनि आएन

कांग्रेसको महाधिवेशनको कार्यतालिका आज पनि आएन

२९ साउन, काठमाडाैँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि जारी छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठक दोस्रो दिन पनि जारी छ ।

शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरी लगायतले आफ्नो धारणा राखेको उनले जानकारी दिए ।

बैठकपछि १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका आउने उनले बताए । बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने उनले उल्लेख गरे । उनले भने – ‘राष्ट्रिय राजनीतिलाई सही ढंगले सम्पादन गरेर अगाडी जानुपर्ने कार्यभार एकातर्फ छ राष्ट्रिय राजनीतिको । अर्कोतर्फ, नेपाली कांग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्दै संगठनलाई सुदृढ बनाएर जाने घरेलु कार्यभार छ । यो दुइवटै कार्यभारको सम्बन्धमा बैठकमा भइरहेको छलफलपछि हामी निष्कर्षमा पुग्नेछौँ ।’

माधव नेपाल टुङ्गोमा पुगेपछि सरकारले पूर्णता पाउने

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बनाए । उनले भने – ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ । त्यसमध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरु रहेको बेलामा उहाँहरु एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्ग प्रशस्त प्राप्त गर्छ ।’

बैठकमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.