प्रिमियर लिग : डेब्यु गरिरहेको ब्रेन्टफर्डले आर्सनललाई हरायाे

प्रिमियर लिग : डेब्यु गरिरहेको ब्रेन्टफर्डले आर्सनललाई हरायाे

३० साउन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफर्डले खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्यो । पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेपनि आर्सनलले पहिलो खेलको हार टार्न सकेन । ब्रेन्टफर्ड भने प्रिमियर लिगको पहिलो खेलमा यादगार जित दर्ता गर्न सफल रहयो ।

खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । आर्सनलको डिफेन्सले बल राम्रोसँग क्लिअर गर्न नसक्दा आएको काउन्टर अट्याकमा ब्रेन्टफर्ड गोल गर्न सफल भएको थियो । कानोसले पेनाल्टी क्षेत्रभित्र क्यालम च्याम्बर्सको चुनौती पार गर्दै गरेको प्रहार गोलरक्षक बर्न्ड लेनोले बचाउन सकेनन् ।

दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै नव प्रवेशी क्लबको अग्रता दोब्बर पारे । लामो थ्रो इनमा आएको बललाई आर्सनलको डिफेन्सले ६ यार्ड बक्स भित्रबाट क्लियर गर्न नसक्दा फार पोस्टमा आएका नोर्गार्डले हेडरमार्फत गोल गरेका थिए ।

ब्रेन्टफर्डले प्रिमियर लिगको ५० औं क्लब बनेसँगै डेब्यु खेलमा ३ अंक जोडेको छ । कोरोना संक्रमणपछि पहिलो पटक पूर्ण क्षमतामा दर्शक प्रवेश गर्न दिइएको थियाे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.