जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गरी मनाइने

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गरी मनाइने

३० साउन, भक्तपुर ।

यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनले भने, “कोरोना महामारीको जोखिम कायमै रहेकाले नगरपालिकाले जनैपूर्णिमामा भीडभाड गरेर मेला भर्न र गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गर्न आफ्ना नागरिकमा अनुरोध गरेको छौँ ।” कोभिडलाई हेलचेक्य्राइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ भन्दै उनले भीडभाड जम्मा हुने जात्रा, पर्वले सङ्क्रमण फैलिने खतरा रहने भएकाले जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।

भेलामा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिले कोरोना सङ्क्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाइ र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत गर्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.