गण्डकी प्रदेशमा एमालेले बनायो छाया सरकार

गण्डकी प्रदेशमा एमालेले बनायो छाया सरकार

३० साउन, पोखरा ।

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छाया सरकार गठन गरेको छ ।

प्रदेश सरकारले गरेका अनियमितता तथा अन्य कामहरूको सूक्ष्म निगरानी र दबाब सृजना गर्न एमालेले छाया सरकार गठन गरेको हो ।

गण्डकी प्रदेशमा ११ मन्त्रालय रहेका छन् । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको छ । ती समितिले विषयगत मन्त्रालयका कार्य प्रगति हेर्ने एमालेले जनाएकाे छ ।

भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक पूर्व मन्त्री रामशरण बस्नेत छन् । त्यसको सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहेका छन् ।

सामाजिक विकास समूहमा पूर्व मन्त्री नरदेवी पुन मगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजकत्व पूर्व मन्त्री विकास लम्सालको नेतृत्वमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य रहेका छन् ।

कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक चन्द्रमोहन गौचन हुनुहुन्छ भने सदस्यमा पुष्पा केसी भण्डारी चुनिएका छन् । इन्द्रलाल सापकोटाको नेतृत्वमा गठित अर्थ समूहको सदस्यमा कृष्णबहादुर थापा रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मीले गर्ने र मायानाथ अधिकारी, मीना गुरुङ त्यसको सदस्यमा छन् । मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य रहेको भूमि, व्यवस्था, कृषि समूहको नेतृत्व मित्रकुमारी गुरुङले गर्नेछिन् भने ऊर्जा, खानेपानी समूहको संयोजक मीनप्रसाद गुरुङ बनेका छन् । यो समूहको सदस्य धनञ्जय दवाडीलाई बनाइएको छ ।

स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ । समूहको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर छन् ।

नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो त्यसपछि छाया सरकारले निरन्तरता पाउन सकेको थिएन । केहीँ समय अगाडी नेपाली काङग्रेसले पनि सङ्घमा छाया सरकार बनाएको थियो ।

गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो । एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले संसद्मा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.