शेयर बजार ः अर्ब बढीको कारोबार

शेयर बजार ः अर्ब बढीको कारोबार

काठमाडौँ, असार २३

धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८ दशमलव ३९ प्रतिशत बढी हो ।

गत साता १८६ कम्पनीको ३६ लाख ७९ हजार छ सय कित्ता शेयर रु एक अर्ब चार करोड १६ लाख २३ हजारमा खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ८८ अंकले बढेर अन्तिम दिन एक हजार २२४ दशमलव ४१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ३४ अंकले बढेर २५७ दशमलव ४६ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ४२ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको एक लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

विभिन्न ६ कम्पनीका शेयर सूचीकृत 

यस साता विभिन्न ६ कम्पनीका शेयर स्टकमा सूचीकृत भएका छन् । त्यसमा ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ७३ कित्ता बोनस, सूर्योदय लघुवित्तको दुई लाख ८० हजार कित्ता हकप्रद, देवः विकास बैंकको ६५ लाख ३३ हजार १०८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद र कर्णली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस र आरएमडीसी लघुवित्तको तीन लाख ४६ हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.