३० साउन, काठमाडौँ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ भूमिस्थलीमा रहेको रामकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिका र रामकृष्ण मन्दिर व्यवस्थापन समितिको साझेदारीमा १ करोड १५ लाख ९० हजारको लागतमा साे मन्दिर निर्माण सम्पन्न भएको हो ।
मन्दिरको आज उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पशुपतिदेखि वागद्वारसम्म वाग्मती नदी क्षेत्रलाई धार्मिक परिपथका रुपमा विकास गर्ने लक्षका साथ नगरपालिकाले कार्य अघि बढाएको बताए ।
उपप्रमुख शान्ति नेपाल र एक नम्बर वडाका अध्यक्ष राम मानन्धरले नगरपालिका क्षेत्र भित्र रहेका मठमन्दिर एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा नगरप्रमुख सन्तोष चालिसेले मन्दिर निर्माणका लागि ३० लाख नगद सहयोग गर्ने स्थानीय गोपाल श्रेष्ठलाई सम्मान गरेका थिए ।
मन्दिर परिसरमा योग हल, ज्येष्ठ नागरिक विश्राम स्थल र प्रवचन कक्ष समेत निर्माण गरिएको छ ।