३० साउन, वीरगंज ।
बारा प्रहरीले ३ दिनदेखि बेपत्ता भएका एकै परिवारका ४ जना नाबालिकालाई सीमावर्ती भारतमा फेला पारी आज परिवारको जिम्मा लगाएको छ ।
बाराको देवताल गाउँपालिका-१ बडकीफुलवरिया टोल बस्ने नरेश साह गोडको ४ छोरीहरू १२ वर्षीया काजल कुमारी, १० वर्षीया आँचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारी गत साउन २७ गतेदेखि आफ्नै घरबाट हराएका थिए ।
बालिकाहरूलाई प्रहरीले भारतको श्रीसियामा फेला पारेपछि भारतीय प्रहरीको समन्वयमा सकुशल उदार गरी नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले बताए । फेला पारिएका बालिकाहरूलाई आजै बुवा नरेश साहको जिम्मा लगाई पठाइएको मिश्रले बताए ।