१ भदौ, काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार आफु पक्षिय जनवर्गिय संगठनहरुको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।
ओलीले आफुहरुलाई लगाएको आरोपहरु फिर्ता लिने र आत्मआलोचना गर्ने कुनै स्प्रिट नदेखाएको उल्लेख गर्दै उनले ओलीले पार्टी विभाजन गर्न चाहेपनि आफुहरुलाई दोष दिइएको बताए । उनले पुर्नगठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताए । उनले भने – ‘उहाँ पार्टी विभाजन गर्न उद्यत्त हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताको निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब यो पार्टीलाई हामी एउटा अन्तिम अवस्थामा पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुर्नगठन गरिने छ । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ । र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । र नेपाली जनताको प्यारो शक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई हामीले अगाडी बढाउनेछौँ ।’
उनले आफु लगायतका सांसदहरुलाई कारबाही गरेको तर्फ इंकित गर्दै आफुहरु कारबाहीबाट विचलित नभइ अगाडी बढ्ने पनि बताए । वरिष्ठ नेता नेपालले आफुहरुले नयाँ पार्टी खोलेपनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडी हटेमा पार्टी एकताको ढोका खुल्ला रहने बताए । आगामी चुनावमा सहकार्य हुनसक्ने समेत उनको भनाई छ । उनले भने – ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडी बढ्नेछौँ । एकताको निम्ति हाम्रो ढोका सधैैँभरी खुल्ला छ । आज फेरी एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भनेपनि, पार्टी पुर्नगठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भनेपनि फेरी केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडी हट्नुहुन्छ भने फेरी एकताको ढोका खुल्ला हुनेछ । अहिले हुनेछ । भोली हुनेछ ।’ वरिष्ठ नेता नेपालले आफुहरु अहिले सबै पार्टीहरुसँग सहकार्य गर्ने भएपनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पारे । उनले अन्य वामपन्थी शक्तिहरुलाई पनि एकतावद्ध बनाउने बताए ।