३ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालकाे नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बिहीबार समाजवादी केन्द्रद्वारा आयोजित ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक कार्यक्रममा बोल्दै उनले दल दर्ताको सनाखत हुनासाथ एकै दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका हुन् ।
उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहानमात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ। यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ ।’
एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ ।
त्यस्तै प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश लोकतन्त्र. संविधान र गणतन्त्र सिध्याउन आएको तर अहिलेको सरकारले ल्याएको अध्यादेश ती कुरालाई जोगाउने भएको बताए । ‘यी दुइटा कुरामा आकाश जमिनको फरक छ,’ उनले भने।