३ भदाै, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाहिरी शक्तिले माधव नेपाललाई एमाले छोड्न बाध्य पारेको बताएका छन् । बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।
उनले भने ‘चुम्बकका दुईवटा पोलजस्ता शक्तिहरु एकै ठाउँमा ल्याइएको छ, कसरी ? त्योभन्दा बलबान शक्ति भयो भने लैजाने हो । जस्तै बन्धन भए पनि चुँडाउन सक्ने गरी तागत लाग्यो भने लैजाने हो । एमालेबाट चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला ।’
उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको गुनासोसमेत गरे । ओलीले भने, ‘मलाई अहंकार देखायो भन्छन् । तर मैले माधव नेपाललाई भेटौं भन्दा पनि मानेनन् । कम्तीमा दुई वर्ष भयो होला, मलाई एकपटक पनि फोन गरेका छैनन् । जहिले पनि मैले नै फोन गरेर कुरा गरिराख्या छु । उनले यहाँ भेट्दिन, त्यहाँ भेट्दिनँ भन्दा म आफैं भनेको ठाउँमा गएको छु ।’