जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

टोकियो, असार २३

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

आइतबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ प्रहरी, अग्निनियन्त्रक र सेना पनि परिचालन गरिएको छ ।

जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । त्यसैगरी शनिबारदेखि आइतबार अपरान्हसम्म पनि हिरोसिमा, क्योटोलगायतका शहरमा भारी वर्षा भएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकायलाई आदेश दिएका छन्।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.