४ भदाै, काठमाडौं।
पार्टी विभाजनमा माधवकुमार नेपालकाे साथ छाडेका नेकपा (एमाले)का नेताहरुले एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने निर्णय गरेका छन्।
शुक्रबार काठमाडौंमा भएकाे स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यहरु तथा संघीय संसद्का सदस्यहरुको भेलाले यस्तो निर्णय गरेको हो। उनीहरुले नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।
नेता गोकर्ण बिष्टले भने, ‘भेलाले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने र १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने निर्णय गर्यो । माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गरेका छौं।’
केपी ओली र माधव नेपाललाई भेटेर आफ्ना भनाइ राख्ने उनले जानकारी दिए। भेलामा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य र सांसदहरुसमेत गरेर ५७ जना उपस्थित रहेको जनाइएकाे छ । उनीहरुले आजको सबै निर्णय समेटेर संयुक्त वक्तव्य निकाल्ने बताएका छन् ।