विराटनगर ः अन्तिम क्वाटरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४—३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ ।
मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् । यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए ।
फ्रान्स सन् १९९८ को च्याम्पियन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ । बुधबार दोस्रो सेमिफाइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ ।
सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ । क्वार्टरफाइनल चरणको खेलपछि यस विश्वकपको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ ।