वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

टोकियो, असार २५

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ ।

उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

प्रधानमन्त्रीको भ्रमण स्थगित 

 

यसैबीच सोमबार टोकियोबाट प्राप्त एक समाचारमा जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण रोकेका छन्।

उनले बुधबारदेखि विभिन्न चार देशको भ्रमण गर्ने भएका थिए । ती देशमा बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट रहेका थिए ।

जापानमा बाढी र पहिरोको प्रकोप जारी नै रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले सो भ्रमण स्थगित गरिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री आबेले सोमबार पनि जापानी अधिकारीहरुलाई बाढी र पहिरोको प्रकोप न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीहरुलाई आदेश दिएका छन्।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.